Category: विचार

विचार

वर्तमान कार्यसमितिका योजनाहरू अध्यक्षको कलमबाट ।  

तिमिल्सिना समाज नेपालको स्थापनासँगै देशभर वसोवास भएका तिमिल्सिनाहरूको माझ एकापसमा परिचय गराउन समाज सफल भएको छ । करिब ६६  जिल्लामा वसोवास गर्ने तिमिल्सिना तिमिल्सिना समाजमा नेपालमा आवद्ध भएका छन् । तिमिल्सिनाहरूमा बन्धुत्वको भावना जागृत भएको छ ।  यहि नै तिमिल्सिना समाज नेपालको उपलब्धि हो । तिमिल्सिना बन्धु वान्धवहरूको एकआपसमा हार्दिकता पूर्वक एकै ठाउँमा बसेर समाज वंश खोज र पहिचानको काम गर्ने वातावरण निर्माण भएको छ ।

तिमिल्सिना समाज नेपालमा समाजका लागि केही गर्नुपर्छ भनेर उभिएका छ । वंश खोज तथा अनुसन्धानमा हुन बाँकी नै छ । विभिन्न क्षेत्रमा रहेका दाजुभाइ दिदीबहिनीहरू समेटिन बाँकि नै रहेको छ । त्यसैले आफ्नो सम्पर्कमा रहेनुभएका बन्धुबान्धबहरूलाई तिमिल्सिना समाज नेपालमा आबद्धता गराउँदै समाजको महत्त्व र सान्धर्भिकताका बारेमा अवगत गराउनु आजको आवश्यकता हो । हरेक क्षेत्रमा वसोवास गर्ने तिमिल्सिनाहरूलाई तिमिल्सिना समाज नेपाललाई कहा सम्पर्क गर्ने ? कसरि सम्पर्कमा पुग्न सकिन्छ ? आदि विषयमा जानकारी हुनु आवश्यक छ ।

तिमिल्सिना समाज नेपाल कुनै वर्ग क्षेत्र र समुहमा मात्र सीमित नभई सबै तिमिल्सिनाहरूको आस्थाको केन्द्रको रूपमा विकास गर्नु जरूरी छ । तिमिल्सिना वंश र पूर्खाहरूले मनाएका अनेकौ चाडपर्व, संस्कृति, स्वधर्म, कूल आदिको संरक्षाण हुनु जरूरी छ । त्यसैले देशविदेश जो जहाँ भएपनि आफ्नो कूल र वंशकालागि, आफ्नो धर्म र संस्कृतिका लागि, सहयोगी हातहरू फिजाउँ खुला मन लिएर समाजको लागि योगदान गरौ ।

तिमिल्सिना बाहेकका थर लेख्नेहरू पनि तिमील्सिना थर लेख्न थालिसकेका छन् । जस्तै विष्ट, न्युरे, कुइकेल, कोइराला, कार्की, के.सी./ खत्री,जोशी, उपाध्याय, शर्मा, तिमील्सैना, तिम्सिना, तिमल्सेना, आदी थर लेख्नेहरू पनि तिमील्सिना थर लेख्ने क्रम शुरु भएको छ । हाम्रा बुवाहरू, हजुरबुवाहरू तिमिल्सिना हुन् भने हामी किन अर्को थरी भन्ने समीक्षा भैरहेको छ । कूलवंश कहाँ  थिए त्यही समाहित हुने इच्छा प्रकट भएको हो । कूल वंशको उत्थानको लागि एक्यवद्धताजस्तो हो । यसकारण पनि तिमिल्सिना थर लेखि आफ्नो वंश सम्झिएर आउनुहुने सबैमा तिमिल्सिना समाज नेपाल हार्दिक आभार प्रकट गर्दछ । स्वागत गर्दछ ।

भावी कार्ययोजनाहरु

तिमिल्सिना समाज नेपालको नवौं महाधिवेशन (२०७६ बैशाख ७)बाट निर्वाचित कार्य समितिले यस कार्यकालको लागि विभिन्न कार्ययोजनाहरू अगाडि बढाएको छ ।

 

समाजको विस्तार ।

देश भित्र र बाहिर छरिएर बसेका तिमिल्सिनाहरूलाई एकीकृत गर्न

 

२०७६ बैशाख महिनामा नयाँ कार्यसमिति गठनसँगै समाजको पहिलो बैठकबाट तीन महिनाभित्र तिमिल्सिना समाज नेपालको प्रदेश स्तरिय समिति हरेक प्रदेशमा गठन गर्ने लक्ष्य लिएको थियो । उक्त कार्य सम्मपन्न भएको छ ।

 

तिमिल्सिनाहरूको बसोवास रहेका हरेक जिल्लाहरूमा  तिमिल्सिना समाज नेपालको जिल्ला समितिको गठन गर्नु अत्ति अवश्य रहेको छ । यसको लाथि सम्बन्धित प्रदेशले संयोजनकारी भूमिका निर्वाह गर्ने गरी सबै जिल्ला समितिहरू गठन गर्ने योजना रहेको छ ।

 

तिमिल्सिनाहरूको बाहुल्यता रहेका स्थानिय निकायहरूमा पनि सकेसम्म तिमिल्सिना समाज नेपालको स्थानीय र वडा समितिहरू गठन गर्ने लक्ष्य तिमिल्सिना समाजको छ । यस प्रकारका स्थानीय स्तरमा समितिहरू निर्माण गर्न सम्बन्धित जिल्ला समितिले संयोजनकारी  भूमिका निर्वाह गर्ने छ । हाल स्थानीय तहमा तिमिल्सिना समाजको स्थानीय समिति तिब्रतामा साथ गठन गर्ने कार्य चलिरहेको छ ।

 

सामिजक क्रियाकलापहरू ।

तिमिल्सिना समाज नेपालको केन्द्रीय समिति, प्रदेश समिति र स्थानीय समितिहरूबाट अवश्यकतानुसार विभिन्न उपसमितिहरूको निर्माण गरी धार्मिक , साँस्कृतिक, कूलपूजा, रक्तदान , बनभोज , स्वास्थ्य शिविर, भित्तेपात्रो तथा स्मारिका प्रकाशन लगायतका सामाजिक क्रियाकलापहरूमा समाजका तर्फबाट कार्ययोजना बनाई अग्रणी भूमिका खेलिने छ ।

 

प्रकाशनहरू

तिमिल्सिना समाज नेपालले आफ्ना क्रियाकलापहरू सहज ढंगबाट सबैको पहुँचमा पुगोस भन्ने उद्देश्यले समाजको वेभसाईट, फेसबुक पेज, युटुब्च्यानल तथा टुईटर लगायतका स्थानबाट आम तिमिल्सिनाहरूसम्म पुग्न सकिने भएको हुँदा यस प्रकारका साइट तथा सामाजिक सञ्जालहहरूको सञ्चालनको शुरू गरिएको छ । यसबाट तिमिल्सिना समाज नेपालका गतिबिधि, खोज तथा अनुसन्धानबाट प्राप्त जानकारी विषयहरूलाई प्रवाह गरिनेछ । साथै अवश्यकतानुसार समाजको मुखपत्र तथा विभिन्न प्रकाशनहरू प्रकाशन गरिने छ ।

 

वंशावली निर्माण तथा प्रकाशन । 

तिमिल्सिनाको बंशावली प्रकाशनको लागि हरेक स्थानीय स्तरदेखि प्रदेश हुँदै केन्द्रसम्म छुट्टै वंशावली अध्ययन तथा निर्माणको लागि समिति बनाउने छ । प्रदेश, जिल्ला र स्थानीय स्तरमा वंशावली खोज तथा अनुसन्धानलाई मुर्त रूपमा लगि वंशावली निर्माण गरिनेछ ।

 

मन्दिर भवन तथा कार्यालय

तिमिल्सिनाहरूको वसोवार भएका क्षेत्रहरूमा तिमिल्सिना समाजसँग उपलब्ध जग्गा तथा सम्पति र श्रोतको परिचालन तथा ब्यवस्थापन गरी मन्दिर, कूलदेवता, गुठी तथा विभिन्न सामाजिक कार्यहरू गर्ने गराउने ।

 

तिमिल्सिना समाज नेपालले लिएका लक्ष्य प्राप्तिका लागि देश तथा देश बाहिर रहनुभएका सबै तिमिल्सिना दाजुभाइ तथा दिदीबहिनीहरू सबैको सहयोग अपरिहार्य बनेको छ । तिमिल्सिना समाज नेपालले अगाडि सारेमन योजना कार्यन्वयनमा सहयोगि बनिदिनुहुन अनुरोध छ । आफूसम्म खवर आइपुग्नु अगाडि नै समाजले गर्दै गरेका क्रियाकलापहरूका बारेमा जानकारी लिई सामाजिक भावनाको  जागृत गराउँदै तिमिल्सिनाहरूको एकता त भातृत्वको लागि सबैले आआफ्ना क्षेत्रबाट सहयोग गरौ । समाज हरेक क्रियाकलापका बिषयमा समाजका प्रतिनिधिहरूसंग समन्यव र सम्पर्क गरौ । आजैबाट हातेमालो गरौं,  आफैँबाट सुरुवात गरौँ, ।

 

 

                                                                                                                        

 

 

Posted by तिमिल्सिना समाज
विचार

तिमिल्सिना समाज नेपालको भावी कार्यदिशा ।

१. पृष्ठभूमि:

तिमिल्सिना समाज नेपाल (यसपछि समाज भनिएको) विशुद्ध वंश, परम्परा र समाजसेवाको कार्यक्षेत्र बोकी, राष्ट्रिय जीवनमा महत्वपूर्ण पक्षमा काम गर्ने उद्देश्य लिएर स्थापित वंशसँग सम्बन्धित समाज हो । समाज स्थापना कालदेखि  निरन्तररूपमा वंश उत्थान र समाज सेवाका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । समाजको स्थापना र विकाससँगै समाजलाई समयानुकुल शशक्त र समाजप्रति उत्तरदायीत्व बोध गर्नसक्ने खालको हुनु अवश्यक छ । समाजले खेल्नु पर्ने भूमिकाहरूको बारेमा केही चर्चा गरेको छु ।

 

२. समाजको भावी कार्यदिशा:

समाजले विगतदेखि गरिआएका राम्रा कार्यहरूको निरन्तरता दिन आवश्यक छ । निरन्तरता दिने क्रममा प्रत्येक क्रियाकलापको स्तर उन्नति पनि हुन अत्ति आवश्यक छ ।  सबैभन्दा पहिला देशभर वसोवास गर्ने तिमिल्सिना दाजुभाइ तथा दिदीबहिनीहरूको तथ्याङ्क र उनीहरूसँग सवन्धित वर्गिकृत सूचनाहरू सङ्कलन गर्नु आवश्यक छ । विभिन्न सरकारी निकाए, निर्वाचन आयोग आदिबाट तयार पारिएको तथ्याङ्कहरूको पनि सहयोग लिन सकिन्छ । देश भित्र कहाँ कति जनसङ्ख्यामा तिमिल्सिना छन् भन्ने तथ्याङ्क हुनु जरुरी छ ।         तिमिल्सिना समाज नेपालका विभिन्न जिल्ला तथा स्थानीय समितिहरूले वंशावलीको धेरै थोरै कामहरू गरिसकेका छन्, गरिरहेका छन् । जस्तोकी पूर्वाञ्चलको बीराटनगरबाट प्रकाशित तिमिल्सिना वंश दर्पण, परिवारका बन्धुहरूबाट प्रकाशित तिमिल्सिना वंशावली र ढुङ्खर्कबाट प्रकाशित चार बाजेका सन्तानहरूको विवरण, गोरखा, चितवन लगायतका स्थानहरूबाट प्रकाशित तिमिल्सिनाको विवरण, बाजुरा अछाम र कैलालीका बन्धुहरूबाट सङ्कलित विवरणले पनि तिमिल्सानाहरूको एकीकृत वंशावली बनाउन तथा तिमिलसिनाहरूको तथ्याङ्क तयार गर्न सहयोग पुर्‍याउन सक्नेछ भन्ने मेरो विश्वास हो ।

तिमिल्सिना, तिमल्सेना, तिम्सिना लगायतका अन्य विभिन्न तरिकाले थर लेखिए पनि तिमिल्सिना वंशजका उपाध्याय, जोशी, भट्ट,  बसौला वा खत्रीआदि जे थरका भएपनि हाम्रा बन्धुवान्धवहरूको समेत निरन्तर खोजि तथा पहिचान गर्न जरूरी छ ।

आवश्यक र यथार्थपरक तथ्याङ्क सङ्कलन कार्य सकिएपछि प्राविधिक पक्षको समेत जानकार व्यक्तिको पहिचान गरी नीजको संयोजकत्वमा एउटा पूर्ण सदस्यीय वंशावली लेखन सिमिति निर्माण गरी आवश्यक अनुसन्धान र खोज गरी तिमिल्सिना बृहत् वंशावली बनाउनु अपरिहार्य छ ।

समाजमा सक्रिय रूपमा योगदान गर्नसक्ने व्यक्तिको पहिचान गरी अहिलेसम्म नसमेटिएका वर्ग र तप्काका दाजुभाइ तथा दिदीबहिनीहरूलाई समाजको वृहतर दायरामा समावेश गर्नुपर्ने काम बाँकी नै रहेको छ । यसको लागि विभिन्न योजना तथा कार्क्रमहरू बनाई सञ्चालन गर्न जरूरी छ । नीजि स्वार्थ, गुट र क्षेत्र र उपक्षेत्रबाट समाजलाई माथि उठाउनु आवश्यक छ । विशुद्ध समाज सेवाको भावानाले सङ्गठित मनभित्रबाट प्रस्फुटन एकाग्र मनबाट अभिप्रेरित संस्थाले निष्ठा, बलिदान, सदाचार र सदासयतालाई कुनैपनि हालतमा छाड्न मिल्दैन । अहिले हामीले समाजको संरचना विस्तार उपयुक्त समय हो । समाजको साख र विश्वास निष्ठा नै यसका बलिया आधारहरू हुन् ।

समाजले संस्थापन कालदेखि हालसम्म विभिन्न किसिमका योगदानले समाज आजको स्थानसम्मम आइपुगेको हो । धेरै तिमिल्सिनाहरूको योगदान जोडिएको छ । त्यसैले पनि सबैले व्यक्तिगत आग्रह, बिग्रहबाट माथि उठ्न अर्को आवश्यता हो ।

वंशावली निर्माण, स्मारिका प्रकाशन नियमित भेटघाट र सामाजिक अन्तरक्रिया जस्ता कार्यक्रमहरूका अलवा हरेक वर्ष कम्तिमा एउटा बनभोज, भित्तेपात्रो प्रकाशन, रक्तदान, श्रमदान, बृक्षारोपण आदिजस्ता कार्यलाई निरन्तर समेट्न आवश्यक छ । वर्षमा एकपटक सबै प्रदेशका समाजसँग आवद्ध व्यक्तिहरूसँग अन्तरक्रिया गरी आपसी सद्भाव आदन प्रदान व्यवस्था मिलाउनेजस्ता कार्यहरूले समाजलाई उर्जा थपिरहेको हुन्छ ।

तिमिल्सिनाको पहिचान झल्किने गरी देश विकासका विभिन्न क्षेत्रमा सगठित अभियानको थालनी आवश्यक भएको महशुश गरेको छु ।

तिमिल्सिना समाजको आफ्नै कार्यालयमा एउटा राष्ट्रिय अनुसन्धान केन्द्र, केन्द्रीय कुलदेवता मन्दिर स्थापना गर्न सकेमा तिमिल्सिनाहरूको पहिचानको बलियो अधारस्तम्भ तयार हुनसक्छ । बन्धुवान्धवहरूको गतिलो रोष्टर बनाएमा को कस्ले कहाँबाट काम गरेको छ ? पत्ता लाग्न सक्दछ । समाजलाई कसले के सहयोग गर्न सक्छ ? कसलाई सहयोगको जरुरी छ । पत्ता लगाई होस्टेमा हैँसे गर्न अवश्यक देख्दछु ।

वार्षिक तिर्थमात्रा कार्यक्रम गर्ने र त्यसका सहभागी हुनसक्ने व्यवस्था गरेमा अझ बढी एकता र भाइचाराको विकास हुने कुरामा मेरो विश्वास छ ।

समाजलाई बलियो बनाउने हो भने मुठ्ठीदान जस्तै प्रतेक सदस्यले दिनको एक रुपया वा महिनाको पच्चिस रुपैया समाजको लागि छुट्याई बैग्लै खातामा पठाउने व्यवस्था गर्न सकेमा समाजको आर्थिक स्थायीत्व हुनसक्ने देख्दछु । यसको लागि अभियान नै जरूरी छ । समाजले आवश्यक योजना र पद्धति निर्माण गरी सबै सदस्यहरूलाई प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउनु राम्रो हुनेछ । समाजको नाममा सम्पितको व्यस्थापन चुस्त र दुरुस्त रहनु पर्दछ । यसको अलावा एकताको र समर्पणको भाव लिएर विभिन्न गितविधिमा समाजलाई सङ्लग्न गराई लगेमा हाम्रो भविष्य उज्जवल हुने कुरामा शंदेह छैन ।

जय तिमिल्सिना समाज !!!

Posted by तिमिल्सिना समाज
विचार

तिमिल्सिना समाजको स्थापना उद्देश्य

नेपाल  बहुभाषिक तथा बहुसांस्कृतिक सभ्यता भएको  देश हो । विभिन्न जातजाति, भाषा र संस्कृति बोकेको विभिन्न भौगोलिक क्षेत्रहरुमा बसोबास गर्ने यहाँका मानिसहरूको आआफ्नो भाषा,  धर्म, संस्कृति, परम्परा,  रितीरिवाज रहेको छ ।

 

आफ्नो भाषा, धर्म, संस्कृति, कुल, वंश परम्परा एवम् इतिहासको संरक्षण एवं सम्वर्द्धन गर्ने कार्य विभिन्न जातजातिहरूले गरिआएका छन्  । हामीले पनि  म हो हुँ, कहाँबाट आएँ, मेरो पूर्वजहरू को हुन् ?  मेरो इतिहास के हो ?  आफ्नो वंश परम्पराको खोज अनुसन्धान गर्नु आजको आवश्यकता देखिएको छ ।  वंश परम्पराको खोज गर्नु सामान्य कुरा होइन, एक दुईजनाले मात्र गरेर सम्भव हुँदैन पनि, तसर्थ यसका लागि देश विदेशमा छरिएर रहेका सम्पूर्ण बन्धुहरूलाई एउटै संगठनमा गोलवद्ध गर्न आवश्यक छ । यही आवश्यकतालाई महशुस गरेर वि.सं. २०६३ साल असार १० गते  नेपाल ल क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौंमा शान्तिकुमार तिमिल्सिनाको सक्रियतामा ४० जना बन्धुहरू भेला भइ तदर्थ समिति गठन गरिएको थियो । उक्त भेलाको अध्यक्षता प्रा.डा. टंकनाथ तिमिल्सिनाले गर्नुभएको थियो भने उक्त भेलाले ओखलढुंगा घर भई हाल मिनभवन निवासी शान्तिकुमार तिमिल्सिनाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेको थियो ।  तिमिल्सिना समाज नेपालको श्रीगणेश यहीबाट प्रारम्भ भएको हो ।

 

यसभन्दा पूर्व पनि तिमिल्सिनाहरू संगठित हुने प्रयास  नगरिएको  भने होइन २०४९ साल श्रावण २४ गते काठमाडौं पशुपति क्षेत्रको राम मन्दिरमा तुलसीराम तिमिल्सिना  (महाङ्काल काठमाडौं) को संयोजकत्वमा ६३ जना बन्धुहरू भेला भै चक्रराज तिमिल्सिना  (शंखमु ल, काठमाडौं) अध्यक्षतामा १६ सदस्यीय तदर्थ समिति गठन भएको थियो । चक्रराज तिमिल्सिना हाल मौदगल्य वंश प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।  यस समितिले उल्लेखनीय कार्य गरेको पाइएन ।  पूर्वाञ्चलमा भएका प्रयास वि.सं. २०४७ सालमा झापाको माइधारमा  तिमिल्सिनाहरूको  भेला भै वंश उत्थानसँग सम्बन्धित केही नाम नामेसी विराटनगर निवासी अनिरुद्र तिमिल्सिनालाई जिम्मा लगाइएको थियो । वंश खोजवीन कार्यमा  मोरङ विराटनगर निवासी प्रा.डा. डिल्लीराम तिम्सिना वि.सं. २०१३/१४ देखि नै  अनिरुद्र तिम्सिना वि.सं. २०१८/१९ देखि नै लागिपर्नुभएको देखिन्छ तर पनि एकल प्रयासबाट मात्र कुनै कार्य गर्न सकिंदैन । प्रा.डा. डिल्लीराम तिम्सिना बनारस हिन्दु विश्वविद्यालयको प्राध्यापन पेशाबाट सेवा निवृत्त भै वि.सं. २०४७  सालमा  विराटनगर आएर पनि सक्रिय रहनुभएको थियो । वि.सं. २०४९ सालमा  उहाँको मृत्यु पछि डिल्लीराम स्मृति प्रतिष्ठान खडा गरि केही पुरस्कारहरू दिने व्यवस्था  पनि गरिएको छ । पूर्व भोजपुर (भुल्के डाँडा खर्कका बन्धुहरूले तिमिल्सिना कल्याण समिति इटहरी सुनसरीमा खडा गरी  टिकाराम तिमिल्सिनाको अध्यक्षता समिति गठन गरी २०६० साल  मार्गमा आफ्नो वंशक्रम  प्रकाशन समेत भएको छ । त्यसक्रममा वि.सं. २०४७  सालमा झापा  चारपानेका पं. नन्दकेशर तिम्सिना, दमकमा मेघराज तिम्सिना, मोरङमा रामकृष्ण राज तिम्सिना, बाबुराम तिम्सिनाबाट प्रयास भएकै हुन्, सकृयता र गति लिन नसकेको  कारणले पुन २०५८ फागुनमा विराटनगरमा एक भेला आयोजना गरी अनिरुद्र तिम्सिनाको अध्यक्षतामा वंश विवरण संकलन तदर्थ समित गठन गरियो । वि.सं. २०६३ मा इटहरीमा  भएको भेलाले टीकादत्त तिम्सिनाको अध्यक्षतामा तिम्सिना वंश प्रतिष्ठान पूर्वाञ्चल क्षेत्रीय समिति गठन गर्र्यो ।

 

अनिरुद्र तिम्सिना वंशावली खोज संकलन कै क्रममा ब्रह्मलीन हुनुभयो । पूर्वाञ्चलका बन्धुहरूले आफूले संकलन  गरेको वंशावली २०७० सालमा इटहरीमा एक भव्य कार्यक्रमका बीच विमोचन तथा मौद्गल्य ऋषिको शालिक अनावरण समेत भयो ।

 

पश्चिमाञ्चलमा भएको प्रयास पश्चिमाञ्चलको केन्द्र बिन्दु पोखरामा वि.सं. २०४४/०४५ सालदेखि नै वंश  खोजविनको प्रयास गरिएको पाइन्छ । पं. अग्निधर,  सोमनाथ तिमिल्सिनाका संरक्षकत्वमा भएका केही कागजहरू प्रकाशनमा ल्याइए तर यसले गति लिन सकेन  ।  पुन २०५५ सालमा पोखरामा  नरहरि तिमिल्सिनाको घरमा केही बन्धुहरू जम्मा भै  छलफल तदर्थ समिति गठन भयो । वि.सं. २०५५ चैत्र २७ गते कास्की पोखरा स्थित वैरागी वनमा वृहत भेलाले बालकृष्ण तिमिल्सिनाको अध्यक्षता गठित तदर्थ समितिलाई नै जिम्मेवारी दिई समिति गठन गर्यो । उक्त भेलामा १ पाने  भित्ते पात्रो (क्यालेण्डर) वितरण गरिएको थियो ।

 

वि.सं. २०५६ सालमा तिमिल्सिना समाज समिति कास्की भनी जि.प्र.का. मा दर्ता गरिएको  थियो । वंश खोजविनको लागि अछाम जिल्लाको तिमिल्सैन जानको लागि २०५६ कार्तिक ५ गते बालकृष्ण, सोमनाथ लोकराज  पूर्ण प्रसाद र पशुपति तिमिल्सिना समेत भै वंशावली संकलन कार्यको लागि धेरै दुःखकष्ट गरी सो समयमा  सेती अञ्चल अछाम जिल्लाको  तिमिल्सिैन जानु भै त्यहाँको  सम्पूर्ण वस्तु स्थिति बुझी फोटो खिची ल्याउनु भएको उहाँकै  हस्तलिखितबाट जानकारी पाउन सकिन्छ ।  (हाल लिखित संलग्न छ), वि.सं. २०५६ सालमा जिल्ला समिति भनी दर्ता गरिएकोमा अन्यत्र कुनै स्थानमा पनि वंश खोजविनको प्रयास भएको नदेखि पुनः उपरोक्त बन्धुहरू एवं नरहरि तिमिल्सिना, भीम प्रसाद गंगाधर तेज नारायण लगायतका बन्धुहरुले पोखरामा नै केन्द्रीय समिति कायम गर्ने गरी वि.सं . २०५८  सालमा तिमिल्सिना समाज केन्द्रीय समिति दर्ता गर्नु भयो । यसरी केन्द्रीय समितिकै रूपमा वि.सं. २०६७ सम्म काम गरी नै रहनुभयो तर पनि आशातीत उपलब्धी हासिल गर्न नसक्दा र काठमाडौंमा नै केन्द्रीय समिति बनी सकेको हुँदा दुवै समितिलाई एक आपसमा गाम्भे र पोखरामा वंश अनु सन्धान केन्द्र स्थापना गर्ने सहमती भयो । यसरी पूर्व पश्चिम जताततै प्रयास गरिए तापनि  कुनै ठोस कार्य हुन नसकेपछि वि.स. २०६३ काठमाडौंमा गठन गरिएको तिमिल्सिना समाज नेपाललाई नै सबै क्षेत्रबाट सहयोग गरी आगाडि बढाउने कार्य गरियो ।

 

२०६३ असार १० को भेलाबाट संयोजक चयन  हुनुभएका शान्ति कुमार तिमिल्सिना तराई तर्फ अध्यापन गर्नहुने अलि व्यस्त रहनु पर्ने हुँदा उहाँकै प्रस्तावमा निलाम्बर तिमिल्सिना लाई अध्यक्ष बनायौं, उहाँको कार्य व्यवस्तताले समय  दिन नसक्नु भएको हुँदा केही दिनमा नै राजिनामा दिनुभयो । त्यस समयको उपाध्यक्ष म स्वयंलाई नै अध्यक्ष बनाउन शान्तीजीले प्रस्ताव गर्नु  भै समाजबाट निर्णय भयो । तिमिल्सिना वंश दर्पण  स्मारिका–  अंक १ को प्रकाशन समेत भयो ।

 

समाज स्थापना र यसका उद्देश्यहरू यसप्रकार थिए ;

देश विदेशमा छरिएर रहेका मौदगल्य गोत्रका तिमिल्सिना, तिमिल्सेना, तिमसिना, तिम्सिना, तिमल्सेना वा थर परिवर्तन गरी उपाध्याय, जैसी, जोशी, खत्री, क्षेत्री, के.सी. थर  भएका बन्धुहरूको खोजी गरी तिनीहरूको उत्पत्तिदेखि वर्तमानसम्मको ऐतिहासिक अध्ययन अनुसन्धान विश्लेषण  र विवेचना गरी आफ्नो संस्कृतिको पहिचान गर्दै एकता, सदभाव, सहयोग, भातृत्वको विकास तथा  सामाजिक कल्याणकारी रचनात्मक कार्यहरू गर्ने उद्देश्यले नेपालका विभिन्न जिल्लाहरूमा दर्ता भै कार्यरत  संस्थाहरूलाई मार्गदर्शक मान्दै भएका प्रयासहरूलाई सराहना प्रशंसा र उच्च मुल्यांकन गर्दै सबै संस्थाहरू बीच समन्वय  गर्दै सबै संस्थाले  गरेका कार्यहरूलाई  एकीकृत रूपमा अगाडि बढाउने उद्देश्यले तिमिल्सिना समाज नेपालको स्थापना गरिएको थियो ।

समाज स्थापनाका उद्देश्यहरू:

१.  तिमल्सिनाहरुको आर्थिक सामाजिक शैक्षिक स्थितिको अध्ययन अनुसन्धान गर्ने ।

२.  तिमिल्सिना लगायत अन्य समुदायहरुको लागि कल्याणकारी योजनाहरू बनाउने र सामुदायिक हितको निमित्त कार्य गर्ने ।

३.  स्वदेश तथा विदेशमा रहेका बन्धुहरूको वंश खोजवीन गरी वंशावली तयार गर्ने ।

४.  तिमिल्सिनाहरूको सनातनदेखि चलिआएको संस्कृतिको खोजी गरी संरक्षण तथा सम्वर्द्धन गर्ने ।

५.  वार्षिक कुलपुजाको निर्धारण गर्ने ।

६.  स्वास्थ्य शिक्षा र वातावरण संरक्षण  सम्बन्धी कार्यक्रमहरू संचालन गर्न सहयोग गर्ने ।

 

“जय तिमिल्सिना समाज”

Posted by तिमिल्सिना समाज
विचार

मौद्गल्य गोत्रदेखि तिमिल्सिना थरसम्म

१. मुद्गलको जन्म स्थानः

मौद्गल्य गोत्रका शीर्ष पुरुष (राजर्षि/महर्षि/कुलपति) मुद्गलका विषयमा विभिन्न प्रकारका मिथक  तिमिल्सिना, कोइराला, उप्रेती लगायतका थरहरूले प्रकाशन गरेका साहित्यमा पाइन्छ । त्यहाँ उल्लेख भए अनुसार मुद्गलको आदि थलो पाञ्चाल भनिदै र लेखिदै आएको छ । यही पाञ्चाललाई हालको पञ्जाब भनिएको छ ।  हाल मुद्गलको नामले नै नामाकरण गरिएका केही स्थानको पहिचान भएकोले मुद्गलको आदि थलोको बारेमा द्विविधा उत्पन्न भएको छ ।  मुद्गलको नामबाट नामाकरण गरिएको बस्ती भारतको कर्णाटक राज्यको रैचुर जिल्लामा छ । यस नगरीमा थुप्रै ऐतिहासिक अभिलेख तथा किल्लाका भग्नावशेष छन् । हाल यो शहरलाई  मुद्गल पञ्चायतभनिन्छ । यसैगरी भारतकै महाराष्ट्र राज्यको पर्भानी जिल्ला स्थित गोदावरी नदीको किनारमा मुद्गल गाउँ छ । भनिन्छ, यस गाँउको बारेमा मुद्गल पुराणमा पनि उल्लेख छ ।

 

२. मुद्गलको वेद र पुराणसँग सम्बन्धः

ऋग्वेदको १० औँ मण्डलको १०२ सुक्तको १२ वटा मन्त्रमा मुद्गल र मुद्गलानीको बारेमा वर्णन गरिएको छ । यसैगरी श्रीमद्भागवत्महापुराणको नवौं स्कन्धको २१औं अध्यायको ३१औं देखि ३४औं श्लोकसम्म पनि मुद्गलका विषयमा चर्चा गरिएको छ । त्यहाँ उल्लेख गरिए अनुसार पांचाल नरेश भम्र्याश्वका जेठा छोरा हुनुहुन्थ्यो– मुद्गल । राज्य भोग गर्ने विषयमा बैराग्य उत्पन्न भएपछि मुद्गलले तपस्याको बाटो अबलम्वन गर्नुभयो । गोदावरीको किनारमा कठोर तपस्या गरी उहाले ब्रह्मत्व प्राप्त गर्नुभयो । तसर्थ मुद्गललाई महर्षि भनिएको हो । महापुराणको ३३औं श्लोकमा भनिएको छः –

मुद्गलाद् ब्रह्म निवृत ।  गोत्र मौद्गल्य संज्ञितम् ।।

यसबाट स्पष्ट हुन्छ कि जन्मले मुद्गल क्षेत्रीय हुनुहुन्थ्यो, र कठोर तपस्याका कारण ब्रह्मत्व प्राप्त गर्नुभयो । त्यसपतिवहाबाट ब्राह्मण कुलको सूत्रपात भयो । वहाँका सन्तति र चेलाहरु मौद्गल्य गोत्रीय भए ।

 

२. मौद्गल्य वंशको नेपाल प्रवेश

वि.सं. ४१५ मा, हालको सूदूरपश्चिम प्रदेश, अछाम जिल्लाको बान्नीगढी–जयगढ गाउँपालिकाको जनाली भन्ने स्थानमा सविता भट्टका छोरा लम्बोदर भट्टको आगमन भएको थियो । कोइराला वंशलतामा मुद्गलदेखि ६५ औं पुस्तामा लम्बोदर भट्टलाई राखिएको छ । लम्बोदरका छोरा लालु र नातिहरू ईश्वरदेव, विश्वदेव र बासुदेवलाई मानिन्छ ।

 

३.तिमिल्सैन विर्ता

साविकको तिमिल्सैन गाउँ विकास समिति हाल लोप भएको छ । यसको अस्तित्व अब तिमिल्सैन गाउँमा मात्र सिमित भयो । राज्यको पुनर्संरचना हुँदा हामीले हाम्रो पहिचानको आधार तिमिल्सैन गाउँ विकास समिति गुमायौं । तिमिल्सैन गाउँबाट करीव एक किलो मिटर उत्तर पश्चिममा जयगढ भन्ने स्थान छ । त्यसभन्दा ५०० मीटर उत्तरमा थर्प्रुकोट भन्ने स्थानमा तत्कालीन सिञ्जाली नरेश मयुर भञ्जनपालको दरबार रहेछ । वि.सं. ४७५ तिर उक्त दरवारमा धार्मिक कार्य भइरहेको अवस्थामा आफ्ना अलौकिक क्रियाकलापद्वारा विश्वदेवले यज्ञ स्थलमा आँखाबाट आगाको ज्वाला निकाली समिधा जलाएपछि राजा प्रसन्न भई हालको तिमिल्सैन गाउँ वरिपरिको क्षेत्र विर्तास्वरुप प्रदान गर्नुभयो भन्ने भनाई छ । त्यस पछि ईश्वरदेव, विश्वदेव र बासुदेव तिमिल्सैनमा बसोवास गर्न थाल्नुभयो ।

 

४. तिमिल्सिना थरको उत्पति

थर मानिसको पहिचान हो । यसले उसको पारिवारिक चिनारी दिन्छ । तसर्थ थरलाई पारिवारिक नाम (Family Name) पनि भनिन्छ । मानिसको पहिचान हुने विभिन्न आधारहरू थिए/छन् । प्रारम्भमा मानिसको पहिचान गोत्रको आधारमा हुन्थ्यो । समय वित्दै जाँदा मानिसहरुको पहिचान पेशाबाट हुन थाल्यो । कालान्तरमा मानिसको पहिचान बसोबासका आधारमा हुनथाल्यो ।

 

पेशाको आधारमा बनेका थरहरूमा– दरा (गाउँ) को हाकिमलाई अधिकारी, राजस्व अधिकृतलाई कार्की, राज पुरोहित वा धर्माधिकारीलाई भट्ट, राजकीय कोष वा भण्डारको प्रमुखलाई भण्डारी भनी पहिचान बन्यो । यसै आधारमा उनीहरूको थर पनि बन्यो ।

 

विद्वताका आधारमा पनि मानिसको पहिचान बन्यो । यसै आधारमा उनीहरुको थर लेख्न थालियो । चार वेदको ज्ञातालाई चतुर्वेदी, तीन वेदको ज्ञातालाई त्रिवेदी, दुई वेदको ज्ञातालाई द्विवेदी तथा चालीस अध्याय वेद कण्ठस्थ सुनाउनेलाई चालिसे भन्न थालियो । अछामको चाल्सामा बसोबास गरेको आधारमा चालिसे भन्ने गरिएको हो भन्ने भनाई पनि छ ।

 

संस्कृत व्याकरणमा रलयोर्अभेद नियम छ । जस अनुसार ‘र’ लेखिएका ठाँउमा ‘ल’ तथा ‘ल’  लेखिएका ठाँउमा ‘र’ लेखिएका संस्कृत व्याकरणमा थुप्रै उदाहरणहरू छन् । यसै नियमानुसार स्थल भन्ने शब्द विकासको क्रममा थल बन्न पुग्यो । जिब्रोले सजिलो उच्चारण खोज्ने क्रममा स्थलबाट थल हुन पुगेको हो ।  यही थल भन्ने शब्दमा नै ‘ल’ को ठाउमा ‘र’ लेखिएर थर बन्न पुगेको छ । यसरी थर भन्नाले स्थल नै भन्ने बुझिन्छ । गोत्रको आधारमा बनेको मानिसको पहिचान क्रमशः बसोबास (स्थल) को आधारमा हुनथाल्यो ।  यसलाई संस्कृतमा “ग्रामज व्यपदेश” भनिन्छ । अर्थात गाउँबाट नाम बने वा गाँउबाट पहिचान हुने क्रम चल्यो । मानिसहरूको पहिचानका लागि गाँउ वा ठाँउको नाम उसको नामको पछाडि जोडिन थालियो । यही नै थर बन्न पुग्यो । अहिले पनि काभ्रेमा बस्ने वा जन्मेकालाई काभ्रेली, झापामा बस्ने वा जन्मेकालाई झापाली, पाल्पामा बस्ने वा जन्मेकालाई पाल्पाली, गोरखामा बस्ने वा जन्मेकालाई गोरखाली भन्ने परम्परा छँदैछ । यसैगरी नेपाली, भारतीय, भुटानी, अमेरिकन, चिनियाँ भनेर पनि मानिसको पहिचान हुने वा गरिने गरिन्छ । तर देशको नामसँग जोडिएका यी शब्दले व्यक्तिको पहिचानको साथसाथै राष्ट्रियता बुझाउछ । तिमिल्सिना थर अछाम जिल्ला स्थित तिमिल्सैन गाउँको नामको आधारमा निर्माण भएको भन्ने सन्दर्भमा अछाम जिल्लाको तिमिल्सैन गाउँबाट तिमिल्सिना थर मात्र बन्यो कि अन्य स्थानबाथ अन्य थर पनि बनेका छन् भनी हेर्नुपर्ने हुन्छ । अछाम जिल्लाको तिमिल्सैनबाट तिमिल्सिना थरको निर्माण भएजस्तै घमिराउँबाट घिमिरे, देवकोटबाट देवकोटा, ढुङ्गानीबाट ढुङ्गाना, ढाँकुबाट ढकाल, बजगाउँबाट बजगाई, रिमाबाट रिमाल, स्वाँराबाट स्वार, घोडासैनबाट घोडासैनी, पुरासैनबाट पुडासैनी, धमालीबाट धमला, दर्नाबाट दर्नाल, कुइकाबाट कुइँकेल, बारलाबाटबराल, र लामिसालबाट लम्साल थरहरु बनेका छन् ।

 

यही आधारमा भन्नुपर्ने हुन्छ/ईश्वरदेव, विश्वदेव र बासुदेवले तिमिल्सैन विर्ता पाउनु भएपछि वहाँहरूको पहिचान स्थान (तिमिल्सैन) को आधारमा हुन थाल्यो । यस कुराको पुष्टि माथि उल्लेखित नियम र उदाहरणहरुले गरेका छन् । यसरी “ग्रामज व्यपदेश” का आधारमा तिमिल्सिनाथर लेख्न आरम्भ भएको विषयमा सन्देह गर्नुपर्ने देखिएन ।

 

५. थर लेखाइमा भएको भिन्नता

ईश्वरदेव, विश्वदेव र बासुदेवलाई तिमिल्सैन विर्ता प्राप्त भएपछि वहाँहरूको पहिचान स्थानको आधारमा हुन थाल्यो भन्ने कुरा विज्ञानसम्मत देखिन्छ । त्यसपछि वहाहरू र वहाँहरूका सन्ततिको पहिचान तिमिल्सिना भयो । बिस्तारै तिमिल्सिनाहरुको बसाई सराईको क्रम शुरु भयो । बसाई सराइसँगै तिमिल्सिना थरको बोलाई र लेखाइमा पनि परिवर्तन देखापर्न थाल्यो । बोलाइमा जिब्रोले सरल उच्चारण गर्न रुचाउने (मुखसुख) हुँनाले तिमिल्सिना थर बोलाइमा विचलन आयो । तिमिल्सिना भन्नु भन्दा तिमल्सिना भन्न सजिलो भयो । तिमल्सिनानै भन्न थालियो । तिमल्सिना भन्नु भन्दा तिम्सिना भन्न सजिलो भयो । तिम्सिनानै भन्न थालियो । हाम्रो लिपी देवनागरी हो ।  जस्तो बोलिन्छ, त्यस्तै लेखिनु अर्थात उच्चारण अनुसार लेखिनु देवनागरी लिपिको विशेषता हो । जिब्रोले सजिलो खोज्ने कारणले र बोलाइ अनुसार नै लेखिने कारणले तिमिल्सिना थर लेखाइमा पनि सजिलोको खोजी भयो । अहिले पनि बस वा प्लेनको टिकट लिँदा होस् वा कुनै न कुनै सरकारी कार्यालयमा लेखापढी गर्दा होस् हामीले हाम्रो थर तिमिल्सिना भन्दा पनि लेख्नेले तिमल्सिना लेखी दिन्छन् । तिमिल्सिना भन्दा उनीहरुले लेख्न अप्ठेरो मान्छन् । अनि तिम्सिना लेख्नु न एउटै हो भनी विभिन्न ठाउँमा भन्नु पर्ने अवस्था छ । तिमिल्सिना लेखाउन दुई तीन पटक दोहोर्याएर भन्नु पर्दछ, तथापि लेख्नेले हिज्जेमा केही न केही त्रुटि गर्दछ । बोलाइमा त झन हामीलाई मिलाई मिलाई तिमिल्सिना भनेर बोलाउदैनन्/भन्दैनन्, तिम्सिना भन्छन् । यसरी हाम्रो थर बोलाइ/लेखाइमा अहिले पनि असजिलो भई रहेको छ । जुन कारणले गर्दा तिमल्सिना, तिमल्सेना, तिमिल्सेना, तिमसिना, तिम्सिना हुन गएको छ । तिम्सिनाभन्ने शब्द जसले बोल्दा वा लेख्दा पनि बिग्रने अवस्था छैन । तर तिमिल्सिना भन्ने शब्द बिग्रन सक्ने प्रशस्त ठाँउछ । यही कारणले तिमिल्सिना थर लेखाइमा विविधता देखिएको हो । रूपमा फरक देखिए पनि सारमा यी सबै थरहरू एकै हुन् भन्ने कुरामा द्विविधा लिनु पर्दैन ।

 

६. वास्तविक थर लेखाई

तिमिल्सिना स्थानवाची विशेषण, र यस शब्दको निर्माणको आधार तिमिल्सैन गाउँ हो भन्ने बारेमा अब शंका रहेन । विश्वदेव तिमिल्सैनमा, ईश्वरदेव अछामको कुइका र वासुदेव बाजुराको बेलकाटिया वसोवास गर्न थाल्नु भएपछिको अवधिमा त्यस ठाउँमा उहाँहरूका सन्तति निरन्तर रूपमा बसोवास गरिरहनु भएको छ । अछामको तिमिल्सैन र कुइका तथा बाजुराको बेलकाटियामा बसोबास गरी रहनु भएका हाम्रा दाजुभाइ दिदीबहिनीहरुले “तिमिल्सिना” लेख्दै आउनु भएको पाइयो । त्यहाँ मात्र नभएर त्यस वरिपरिका क्षेत्रलगायत अछामदेखि सिन्धुपाल्चोकसम्म तिमिल्सिना नै लेखिदै आएको पाइन्छ । तर काभ्रे जिल्ला र यहाँबाट बसाई सर्नु भएका काठमाडौं, ललितपुर, मकवानपुर, बारा, रौतहट, सर्लाही, सिन्धुली, उदयपुर, र ओखलढुङ्गा लगायतका जिल्लाका वन्धुहरूले तिमल्सिना लेख्नुहुन्छ ।

 

थर लेखाइ सम्बन्धमा हामीलाई वि.सं. १४४१ को दस्तावेज प्राप्त भएको छ । त्यस दस्तावेजमा “तिमिल्सिना” भन्ने शब्द उल्लेख गरिएको छ । नेपालको पूर्वी जिल्लामा प्रायः तिम्सिना लेख्ने गरिएको छ । यस सन्दर्भमा मैले संक्षिप्त अध्ययन गर्ने प्रयास गरेँ । जसका लागि करीब १०० वर्ष अगाडिका घरसारमा गरिएका केही लिखतहरू मगाएँ । ती लिखतहरूमा हाम्रा पूर्वजले आफ्नो थर तिमिल्सिना उल्लेख गरेको पाइयो । यसरी हेर्दा तिमिल्सिनाबाट तिमल्सिना, तिमल्सिनाबाट तिमसिना र अझै सजिलोको लागि तिमसिनाबाट तिम्सिना हुन गएको कुरा अनुमान गर्नु अन्यथा हुँदैन । तिमिल्सिना शब्दमा रहेका तीनवटा र्र्हस्व इकारबाट एउटा इकार छुटेर बनेको तिमल्सिना र तिमल्सिनाबाट आधा ल (ल्) छुटेर बनेको तिमसिना र तिमसिनालाई अझ सजिलै उच्चारण गर्न मिल्ने तिम्सिनाशब्दहरुको मूल शब्दतिमिल्सिना नै हो भन्ने विषयमा संदेह नरहला ।

 

७. तिमिल्सिनाहरूको व्यापकता

तिमिल्सैन र यस वरिपरिको क्षेत्र विर्ता प्राप्त गरेपछि यसको केन्द्र तिमिल्सैनमा वसोवास गर्न थालेका ईश्वरदेव, विशवदेव र बासुदेव मध्ये केही समय पछि नै ईश्वरदेवले अछामको कुइकामा र कान्छा बासुदेव वाजुराको बेलकटियामा विर्ता पाई त्यही गएर बसोवास गर्न थाल्नुभयो । यसरी विस्तारै पल्लवित हुदै गएको तिमिल्सिना वंशवृक्ष नेपाल राज्यका साविकका १४ वटै अञ्चलका ६१ जिल्ला ४३ नगरपालिका, करीव–९१५ गा.वि.स. र २६१९ वडामा फैलिएर रहेकोछ ।

तिमिल्सिना वंशवृक्ष नेपालमा मात्र सिमित नभएर भारतको सिक्किम, आसाम, मणिपुरसम्म पनि बिस्तारित छ । यसैगरी भुटान, बर्मामा पनि तिमिल्सिनाको स्थायी बसोबास रहेको छ । यसरी नै विश्वका अन्य देशमा पनि तिमिल्सिनाहरू स्थायी रूपमा बसोबास गर्दै आएको पाइएको छ । आज तिमिल्सिनाहरू पृथ्वीको सबै महाद्वीपमा छरिएर रहेकाछन् ।

 

८.सगोत्रीहरू

तिमिल्सिनाका सगोत्रीहरूमा कोइराला, कुइकेल, उप्रेती, सिम्खडा, मुडुला कार्की, नैनावस्ती, बेल्वासे, बगाले, कुमेडी, बसौला, न्यूरे, लेकाल, गोराथोकी, लेखक, पिउठान, मौजलेहरू पहिचान भएका भएभने उपाध्याय, शर्मा जोशी, खत्री, जैशी, क्षेत्री, के.सी. लेख्नेहरू पनि मौद्गल्य गोत्रीय छन् । (केही गिरी, विष्ट) पनि तिमिल्सिनाका सगोत्री छन् । यी उल्लेखित थरहरू प्रारम्भिक अवस्थामा तिमिल्सिना नै लेख्दथे, कोइराला वंशलताको पृष्ठ ५६ बाट यसकुराको पुष्टि भएकोछ । त्यहाँ उल्लेख भए अनुसार लम्बोदर भट्टको १० औं पुस्तामा इश्वरदेव तर्फका सन्तानमा होमनाथ अग्नी होत्री भए । उनका काइला छोरा श्रीकृष्ण दैलेख जिल्लाको कोइलारी / कोइरालोमा बस्न थालेपछि उनका सन्ततिको थर कोइराला लेख्न थालियो । यसरी हेर्दा कोइराला पनि तिमिल्सिना कै एक शाखा भएको पुष्टि हुन्छ । यसैगरी उप्रती वंशावलीमा पनि उप्रेतीहरू ईश्वरदेव तर्फको सन्तति भनी उल्लेख गरिएको छ । नेपालमा रहेका जे जति मौदगल्य गोत्रीयहरू हुनुहुन्छ, वहाहरू तिमिल्सिना थरको एक शाखा भएको पुष्टि भएको छ । बसाई सराइका क्रममा तिमिल्सिनाहरू विभिन्न स्थानमा सर्नु भएपछि थर लेखाइमा “ग्रामज व्यपदेश” का आधारमा फरक आएर विभिन्न थरको निर्माण भएको हो ।

Posted by तिमिल्सिना समाज