मौद्गल्य गोत्रदेखि तिमिल्सिना थरसम्म

१. मुद्गलको जन्म स्थानः

मौद्गल्य गोत्रका शीर्ष पुरुष (राजर्षि/महर्षि/कुलपति) मुद्गलका विषयमा विभिन्न प्रकारका मिथक  तिमिल्सिना, कोइराला, उप्रेती लगायतका थरहरूले प्रकाशन गरेका साहित्यमा पाइन्छ । त्यहाँ उल्लेख भए अनुसार मुद्गलको आदि थलो पाञ्चाल भनिदै र लेखिदै आएको छ । यही पाञ्चाललाई हालको पञ्जाब भनिएको छ ।  हाल मुद्गलको नामले नै नामाकरण गरिएका केही स्थानको पहिचान भएकोले मुद्गलको आदि थलोको बारेमा द्विविधा उत्पन्न भएको छ ।  मुद्गलको नामबाट नामाकरण गरिएको बस्ती भारतको कर्णाटक राज्यको रैचुर जिल्लामा छ । यस नगरीमा थुप्रै ऐतिहासिक अभिलेख तथा किल्लाका भग्नावशेष छन् । हाल यो शहरलाई  मुद्गल पञ्चायतभनिन्छ । यसैगरी भारतकै महाराष्ट्र राज्यको पर्भानी जिल्ला स्थित गोदावरी नदीको किनारमा मुद्गल गाउँ छ । भनिन्छ, यस गाँउको बारेमा मुद्गल पुराणमा पनि उल्लेख छ ।

 

२. मुद्गलको वेद र पुराणसँग सम्बन्धः

ऋग्वेदको १० औँ मण्डलको १०२ सुक्तको १२ वटा मन्त्रमा मुद्गल र मुद्गलानीको बारेमा वर्णन गरिएको छ । यसैगरी श्रीमद्भागवत्महापुराणको नवौं स्कन्धको २१औं अध्यायको ३१औं देखि ३४औं श्लोकसम्म पनि मुद्गलका विषयमा चर्चा गरिएको छ । त्यहाँ उल्लेख गरिए अनुसार पांचाल नरेश भम्र्याश्वका जेठा छोरा हुनुहुन्थ्यो– मुद्गल । राज्य भोग गर्ने विषयमा बैराग्य उत्पन्न भएपछि मुद्गलले तपस्याको बाटो अबलम्वन गर्नुभयो । गोदावरीको किनारमा कठोर तपस्या गरी उहाले ब्रह्मत्व प्राप्त गर्नुभयो । तसर्थ मुद्गललाई महर्षि भनिएको हो । महापुराणको ३३औं श्लोकमा भनिएको छः –

मुद्गलाद् ब्रह्म निवृत ।  गोत्र मौद्गल्य संज्ञितम् ।।

यसबाट स्पष्ट हुन्छ कि जन्मले मुद्गल क्षेत्रीय हुनुहुन्थ्यो, र कठोर तपस्याका कारण ब्रह्मत्व प्राप्त गर्नुभयो । त्यसपतिवहाबाट ब्राह्मण कुलको सूत्रपात भयो । वहाँका सन्तति र चेलाहरु मौद्गल्य गोत्रीय भए ।

 

२. मौद्गल्य वंशको नेपाल प्रवेश

वि.सं. ४१५ मा, हालको सूदूरपश्चिम प्रदेश, अछाम जिल्लाको बान्नीगढी–जयगढ गाउँपालिकाको जनाली भन्ने स्थानमा सविता भट्टका छोरा लम्बोदर भट्टको आगमन भएको थियो । कोइराला वंशलतामा मुद्गलदेखि ६५ औं पुस्तामा लम्बोदर भट्टलाई राखिएको छ । लम्बोदरका छोरा लालु र नातिहरू ईश्वरदेव, विश्वदेव र बासुदेवलाई मानिन्छ ।

 

३.तिमिल्सैन विर्ता

साविकको तिमिल्सैन गाउँ विकास समिति हाल लोप भएको छ । यसको अस्तित्व अब तिमिल्सैन गाउँमा मात्र सिमित भयो । राज्यको पुनर्संरचना हुँदा हामीले हाम्रो पहिचानको आधार तिमिल्सैन गाउँ विकास समिति गुमायौं । तिमिल्सैन गाउँबाट करीव एक किलो मिटर उत्तर पश्चिममा जयगढ भन्ने स्थान छ । त्यसभन्दा ५०० मीटर उत्तरमा थर्प्रुकोट भन्ने स्थानमा तत्कालीन सिञ्जाली नरेश मयुर भञ्जनपालको दरबार रहेछ । वि.सं. ४७५ तिर उक्त दरवारमा धार्मिक कार्य भइरहेको अवस्थामा आफ्ना अलौकिक क्रियाकलापद्वारा विश्वदेवले यज्ञ स्थलमा आँखाबाट आगाको ज्वाला निकाली समिधा जलाएपछि राजा प्रसन्न भई हालको तिमिल्सैन गाउँ वरिपरिको क्षेत्र विर्तास्वरुप प्रदान गर्नुभयो भन्ने भनाई छ । त्यस पछि ईश्वरदेव, विश्वदेव र बासुदेव तिमिल्सैनमा बसोवास गर्न थाल्नुभयो ।

 

४. तिमिल्सिना थरको उत्पति

थर मानिसको पहिचान हो । यसले उसको पारिवारिक चिनारी दिन्छ । तसर्थ थरलाई पारिवारिक नाम (Family Name) पनि भनिन्छ । मानिसको पहिचान हुने विभिन्न आधारहरू थिए/छन् । प्रारम्भमा मानिसको पहिचान गोत्रको आधारमा हुन्थ्यो । समय वित्दै जाँदा मानिसहरुको पहिचान पेशाबाट हुन थाल्यो । कालान्तरमा मानिसको पहिचान बसोबासका आधारमा हुनथाल्यो ।

 

पेशाको आधारमा बनेका थरहरूमा– दरा (गाउँ) को हाकिमलाई अधिकारी, राजस्व अधिकृतलाई कार्की, राज पुरोहित वा धर्माधिकारीलाई भट्ट, राजकीय कोष वा भण्डारको प्रमुखलाई भण्डारी भनी पहिचान बन्यो । यसै आधारमा उनीहरूको थर पनि बन्यो ।

 

विद्वताका आधारमा पनि मानिसको पहिचान बन्यो । यसै आधारमा उनीहरुको थर लेख्न थालियो । चार वेदको ज्ञातालाई चतुर्वेदी, तीन वेदको ज्ञातालाई त्रिवेदी, दुई वेदको ज्ञातालाई द्विवेदी तथा चालीस अध्याय वेद कण्ठस्थ सुनाउनेलाई चालिसे भन्न थालियो । अछामको चाल्सामा बसोबास गरेको आधारमा चालिसे भन्ने गरिएको हो भन्ने भनाई पनि छ ।

 

संस्कृत व्याकरणमा रलयोर्अभेद नियम छ । जस अनुसार ‘र’ लेखिएका ठाँउमा ‘ल’ तथा ‘ल’  लेखिएका ठाँउमा ‘र’ लेखिएका संस्कृत व्याकरणमा थुप्रै उदाहरणहरू छन् । यसै नियमानुसार स्थल भन्ने शब्द विकासको क्रममा थल बन्न पुग्यो । जिब्रोले सजिलो उच्चारण खोज्ने क्रममा स्थलबाट थल हुन पुगेको हो ।  यही थल भन्ने शब्दमा नै ‘ल’ को ठाउमा ‘र’ लेखिएर थर बन्न पुगेको छ । यसरी थर भन्नाले स्थल नै भन्ने बुझिन्छ । गोत्रको आधारमा बनेको मानिसको पहिचान क्रमशः बसोबास (स्थल) को आधारमा हुनथाल्यो ।  यसलाई संस्कृतमा “ग्रामज व्यपदेश” भनिन्छ । अर्थात गाउँबाट नाम बने वा गाँउबाट पहिचान हुने क्रम चल्यो । मानिसहरूको पहिचानका लागि गाँउ वा ठाँउको नाम उसको नामको पछाडि जोडिन थालियो । यही नै थर बन्न पुग्यो । अहिले पनि काभ्रेमा बस्ने वा जन्मेकालाई काभ्रेली, झापामा बस्ने वा जन्मेकालाई झापाली, पाल्पामा बस्ने वा जन्मेकालाई पाल्पाली, गोरखामा बस्ने वा जन्मेकालाई गोरखाली भन्ने परम्परा छँदैछ । यसैगरी नेपाली, भारतीय, भुटानी, अमेरिकन, चिनियाँ भनेर पनि मानिसको पहिचान हुने वा गरिने गरिन्छ । तर देशको नामसँग जोडिएका यी शब्दले व्यक्तिको पहिचानको साथसाथै राष्ट्रियता बुझाउछ । तिमिल्सिना थर अछाम जिल्ला स्थित तिमिल्सैन गाउँको नामको आधारमा निर्माण भएको भन्ने सन्दर्भमा अछाम जिल्लाको तिमिल्सैन गाउँबाट तिमिल्सिना थर मात्र बन्यो कि अन्य स्थानबाथ अन्य थर पनि बनेका छन् भनी हेर्नुपर्ने हुन्छ । अछाम जिल्लाको तिमिल्सैनबाट तिमिल्सिना थरको निर्माण भएजस्तै घमिराउँबाट घिमिरे, देवकोटबाट देवकोटा, ढुङ्गानीबाट ढुङ्गाना, ढाँकुबाट ढकाल, बजगाउँबाट बजगाई, रिमाबाट रिमाल, स्वाँराबाट स्वार, घोडासैनबाट घोडासैनी, पुरासैनबाट पुडासैनी, धमालीबाट धमला, दर्नाबाट दर्नाल, कुइकाबाट कुइँकेल, बारलाबाटबराल, र लामिसालबाट लम्साल थरहरु बनेका छन् ।

 

यही आधारमा भन्नुपर्ने हुन्छ/ईश्वरदेव, विश्वदेव र बासुदेवले तिमिल्सैन विर्ता पाउनु भएपछि वहाँहरूको पहिचान स्थान (तिमिल्सैन) को आधारमा हुन थाल्यो । यस कुराको पुष्टि माथि उल्लेखित नियम र उदाहरणहरुले गरेका छन् । यसरी “ग्रामज व्यपदेश” का आधारमा तिमिल्सिनाथर लेख्न आरम्भ भएको विषयमा सन्देह गर्नुपर्ने देखिएन ।

 

५. थर लेखाइमा भएको भिन्नता

ईश्वरदेव, विश्वदेव र बासुदेवलाई तिमिल्सैन विर्ता प्राप्त भएपछि वहाँहरूको पहिचान स्थानको आधारमा हुन थाल्यो भन्ने कुरा विज्ञानसम्मत देखिन्छ । त्यसपछि वहाहरू र वहाँहरूका सन्ततिको पहिचान तिमिल्सिना भयो । बिस्तारै तिमिल्सिनाहरुको बसाई सराईको क्रम शुरु भयो । बसाई सराइसँगै तिमिल्सिना थरको बोलाई र लेखाइमा पनि परिवर्तन देखापर्न थाल्यो । बोलाइमा जिब्रोले सरल उच्चारण गर्न रुचाउने (मुखसुख) हुँनाले तिमिल्सिना थर बोलाइमा विचलन आयो । तिमिल्सिना भन्नु भन्दा तिमल्सिना भन्न सजिलो भयो । तिमल्सिनानै भन्न थालियो । तिमल्सिना भन्नु भन्दा तिम्सिना भन्न सजिलो भयो । तिम्सिनानै भन्न थालियो । हाम्रो लिपी देवनागरी हो ।  जस्तो बोलिन्छ, त्यस्तै लेखिनु अर्थात उच्चारण अनुसार लेखिनु देवनागरी लिपिको विशेषता हो । जिब्रोले सजिलो खोज्ने कारणले र बोलाइ अनुसार नै लेखिने कारणले तिमिल्सिना थर लेखाइमा पनि सजिलोको खोजी भयो । अहिले पनि बस वा प्लेनको टिकट लिँदा होस् वा कुनै न कुनै सरकारी कार्यालयमा लेखापढी गर्दा होस् हामीले हाम्रो थर तिमिल्सिना भन्दा पनि लेख्नेले तिमल्सिना लेखी दिन्छन् । तिमिल्सिना भन्दा उनीहरुले लेख्न अप्ठेरो मान्छन् । अनि तिम्सिना लेख्नु न एउटै हो भनी विभिन्न ठाउँमा भन्नु पर्ने अवस्था छ । तिमिल्सिना लेखाउन दुई तीन पटक दोहोर्याएर भन्नु पर्दछ, तथापि लेख्नेले हिज्जेमा केही न केही त्रुटि गर्दछ । बोलाइमा त झन हामीलाई मिलाई मिलाई तिमिल्सिना भनेर बोलाउदैनन्/भन्दैनन्, तिम्सिना भन्छन् । यसरी हाम्रो थर बोलाइ/लेखाइमा अहिले पनि असजिलो भई रहेको छ । जुन कारणले गर्दा तिमल्सिना, तिमल्सेना, तिमिल्सेना, तिमसिना, तिम्सिना हुन गएको छ । तिम्सिनाभन्ने शब्द जसले बोल्दा वा लेख्दा पनि बिग्रने अवस्था छैन । तर तिमिल्सिना भन्ने शब्द बिग्रन सक्ने प्रशस्त ठाँउछ । यही कारणले तिमिल्सिना थर लेखाइमा विविधता देखिएको हो । रूपमा फरक देखिए पनि सारमा यी सबै थरहरू एकै हुन् भन्ने कुरामा द्विविधा लिनु पर्दैन ।

 

६. वास्तविक थर लेखाई

तिमिल्सिना स्थानवाची विशेषण, र यस शब्दको निर्माणको आधार तिमिल्सैन गाउँ हो भन्ने बारेमा अब शंका रहेन । विश्वदेव तिमिल्सैनमा, ईश्वरदेव अछामको कुइका र वासुदेव बाजुराको बेलकाटिया वसोवास गर्न थाल्नु भएपछिको अवधिमा त्यस ठाउँमा उहाँहरूका सन्तति निरन्तर रूपमा बसोवास गरिरहनु भएको छ । अछामको तिमिल्सैन र कुइका तथा बाजुराको बेलकाटियामा बसोबास गरी रहनु भएका हाम्रा दाजुभाइ दिदीबहिनीहरुले “तिमिल्सिना” लेख्दै आउनु भएको पाइयो । त्यहाँ मात्र नभएर त्यस वरिपरिका क्षेत्रलगायत अछामदेखि सिन्धुपाल्चोकसम्म तिमिल्सिना नै लेखिदै आएको पाइन्छ । तर काभ्रे जिल्ला र यहाँबाट बसाई सर्नु भएका काठमाडौं, ललितपुर, मकवानपुर, बारा, रौतहट, सर्लाही, सिन्धुली, उदयपुर, र ओखलढुङ्गा लगायतका जिल्लाका वन्धुहरूले तिमल्सिना लेख्नुहुन्छ ।

 

थर लेखाइ सम्बन्धमा हामीलाई वि.सं. १४४१ को दस्तावेज प्राप्त भएको छ । त्यस दस्तावेजमा “तिमिल्सिना” भन्ने शब्द उल्लेख गरिएको छ । नेपालको पूर्वी जिल्लामा प्रायः तिम्सिना लेख्ने गरिएको छ । यस सन्दर्भमा मैले संक्षिप्त अध्ययन गर्ने प्रयास गरेँ । जसका लागि करीब १०० वर्ष अगाडिका घरसारमा गरिएका केही लिखतहरू मगाएँ । ती लिखतहरूमा हाम्रा पूर्वजले आफ्नो थर तिमिल्सिना उल्लेख गरेको पाइयो । यसरी हेर्दा तिमिल्सिनाबाट तिमल्सिना, तिमल्सिनाबाट तिमसिना र अझै सजिलोको लागि तिमसिनाबाट तिम्सिना हुन गएको कुरा अनुमान गर्नु अन्यथा हुँदैन । तिमिल्सिना शब्दमा रहेका तीनवटा र्र्हस्व इकारबाट एउटा इकार छुटेर बनेको तिमल्सिना र तिमल्सिनाबाट आधा ल (ल्) छुटेर बनेको तिमसिना र तिमसिनालाई अझ सजिलै उच्चारण गर्न मिल्ने तिम्सिनाशब्दहरुको मूल शब्दतिमिल्सिना नै हो भन्ने विषयमा संदेह नरहला ।

 

७. तिमिल्सिनाहरूको व्यापकता

तिमिल्सैन र यस वरिपरिको क्षेत्र विर्ता प्राप्त गरेपछि यसको केन्द्र तिमिल्सैनमा वसोवास गर्न थालेका ईश्वरदेव, विशवदेव र बासुदेव मध्ये केही समय पछि नै ईश्वरदेवले अछामको कुइकामा र कान्छा बासुदेव वाजुराको बेलकटियामा विर्ता पाई त्यही गएर बसोवास गर्न थाल्नुभयो । यसरी विस्तारै पल्लवित हुदै गएको तिमिल्सिना वंशवृक्ष नेपाल राज्यका साविकका १४ वटै अञ्चलका ६१ जिल्ला ४३ नगरपालिका, करीव–९१५ गा.वि.स. र २६१९ वडामा फैलिएर रहेकोछ ।

तिमिल्सिना वंशवृक्ष नेपालमा मात्र सिमित नभएर भारतको सिक्किम, आसाम, मणिपुरसम्म पनि बिस्तारित छ । यसैगरी भुटान, बर्मामा पनि तिमिल्सिनाको स्थायी बसोबास रहेको छ । यसरी नै विश्वका अन्य देशमा पनि तिमिल्सिनाहरू स्थायी रूपमा बसोबास गर्दै आएको पाइएको छ । आज तिमिल्सिनाहरू पृथ्वीको सबै महाद्वीपमा छरिएर रहेकाछन् ।

 

८.सगोत्रीहरू

तिमिल्सिनाका सगोत्रीहरूमा कोइराला, कुइकेल, उप्रेती, सिम्खडा, मुडुला कार्की, नैनावस्ती, बेल्वासे, बगाले, कुमेडी, बसौला, न्यूरे, लेकाल, गोराथोकी, लेखक, पिउठान, मौजलेहरू पहिचान भएका भएभने उपाध्याय, शर्मा जोशी, खत्री, जैशी, क्षेत्री, के.सी. लेख्नेहरू पनि मौद्गल्य गोत्रीय छन् । (केही गिरी, विष्ट) पनि तिमिल्सिनाका सगोत्री छन् । यी उल्लेखित थरहरू प्रारम्भिक अवस्थामा तिमिल्सिना नै लेख्दथे, कोइराला वंशलताको पृष्ठ ५६ बाट यसकुराको पुष्टि भएकोछ । त्यहाँ उल्लेख भए अनुसार लम्बोदर भट्टको १० औं पुस्तामा इश्वरदेव तर्फका सन्तानमा होमनाथ अग्नी होत्री भए । उनका काइला छोरा श्रीकृष्ण दैलेख जिल्लाको कोइलारी / कोइरालोमा बस्न थालेपछि उनका सन्ततिको थर कोइराला लेख्न थालियो । यसरी हेर्दा कोइराला पनि तिमिल्सिना कै एक शाखा भएको पुष्टि हुन्छ । यसैगरी उप्रती वंशावलीमा पनि उप्रेतीहरू ईश्वरदेव तर्फको सन्तति भनी उल्लेख गरिएको छ । नेपालमा रहेका जे जति मौदगल्य गोत्रीयहरू हुनुहुन्छ, वहाहरू तिमिल्सिना थरको एक शाखा भएको पुष्टि भएको छ । बसाई सराइका क्रममा तिमिल्सिनाहरू विभिन्न स्थानमा सर्नु भएपछि थर लेखाइमा “ग्रामज व्यपदेश” का आधारमा फरक आएर विभिन्न थरको निर्माण भएको हो ।

Leave a Reply