तिमिल्सिना समाजको स्थापना उद्देश्य

नेपाल  बहुभाषिक तथा बहुसांस्कृतिक सभ्यता भएको  देश हो । विभिन्न जातजाति, भाषा र संस्कृति बोकेको विभिन्न भौगोलिक क्षेत्रहरुमा बसोबास गर्ने यहाँका मानिसहरूको आआफ्नो भाषा,  धर्म, संस्कृति, परम्परा,  रितीरिवाज रहेको छ ।

 

आफ्नो भाषा, धर्म, संस्कृति, कुल, वंश परम्परा एवम् इतिहासको संरक्षण एवं सम्वर्द्धन गर्ने कार्य विभिन्न जातजातिहरूले गरिआएका छन्  । हामीले पनि  म हो हुँ, कहाँबाट आएँ, मेरो पूर्वजहरू को हुन् ?  मेरो इतिहास के हो ?  आफ्नो वंश परम्पराको खोज अनुसन्धान गर्नु आजको आवश्यकता देखिएको छ ।  वंश परम्पराको खोज गर्नु सामान्य कुरा होइन, एक दुईजनाले मात्र गरेर सम्भव हुँदैन पनि, तसर्थ यसका लागि देश विदेशमा छरिएर रहेका सम्पूर्ण बन्धुहरूलाई एउटै संगठनमा गोलवद्ध गर्न आवश्यक छ । यही आवश्यकतालाई महशुस गरेर वि.सं. २०६३ साल असार १० गते  नेपाल ल क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौंमा शान्तिकुमार तिमिल्सिनाको सक्रियतामा ४० जना बन्धुहरू भेला भइ तदर्थ समिति गठन गरिएको थियो । उक्त भेलाको अध्यक्षता प्रा.डा. टंकनाथ तिमिल्सिनाले गर्नुभएको थियो भने उक्त भेलाले ओखलढुंगा घर भई हाल मिनभवन निवासी शान्तिकुमार तिमिल्सिनाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेको थियो ।  तिमिल्सिना समाज नेपालको श्रीगणेश यहीबाट प्रारम्भ भएको हो ।

 

यसभन्दा पूर्व पनि तिमिल्सिनाहरू संगठित हुने प्रयास  नगरिएको  भने होइन २०४९ साल श्रावण २४ गते काठमाडौं पशुपति क्षेत्रको राम मन्दिरमा तुलसीराम तिमिल्सिना  (महाङ्काल काठमाडौं) को संयोजकत्वमा ६३ जना बन्धुहरू भेला भै चक्रराज तिमिल्सिना  (शंखमु ल, काठमाडौं) अध्यक्षतामा १६ सदस्यीय तदर्थ समिति गठन भएको थियो । चक्रराज तिमिल्सिना हाल मौदगल्य वंश प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।  यस समितिले उल्लेखनीय कार्य गरेको पाइएन ।  पूर्वाञ्चलमा भएका प्रयास वि.सं. २०४७ सालमा झापाको माइधारमा  तिमिल्सिनाहरूको  भेला भै वंश उत्थानसँग सम्बन्धित केही नाम नामेसी विराटनगर निवासी अनिरुद्र तिमिल्सिनालाई जिम्मा लगाइएको थियो । वंश खोजवीन कार्यमा  मोरङ विराटनगर निवासी प्रा.डा. डिल्लीराम तिम्सिना वि.सं. २०१३/१४ देखि नै  अनिरुद्र तिम्सिना वि.सं. २०१८/१९ देखि नै लागिपर्नुभएको देखिन्छ तर पनि एकल प्रयासबाट मात्र कुनै कार्य गर्न सकिंदैन । प्रा.डा. डिल्लीराम तिम्सिना बनारस हिन्दु विश्वविद्यालयको प्राध्यापन पेशाबाट सेवा निवृत्त भै वि.सं. २०४७  सालमा  विराटनगर आएर पनि सक्रिय रहनुभएको थियो । वि.सं. २०४९ सालमा  उहाँको मृत्यु पछि डिल्लीराम स्मृति प्रतिष्ठान खडा गरि केही पुरस्कारहरू दिने व्यवस्था  पनि गरिएको छ । पूर्व भोजपुर (भुल्के डाँडा खर्कका बन्धुहरूले तिमिल्सिना कल्याण समिति इटहरी सुनसरीमा खडा गरी  टिकाराम तिमिल्सिनाको अध्यक्षता समिति गठन गरी २०६० साल  मार्गमा आफ्नो वंशक्रम  प्रकाशन समेत भएको छ । त्यसक्रममा वि.सं. २०४७  सालमा झापा  चारपानेका पं. नन्दकेशर तिम्सिना, दमकमा मेघराज तिम्सिना, मोरङमा रामकृष्ण राज तिम्सिना, बाबुराम तिम्सिनाबाट प्रयास भएकै हुन्, सकृयता र गति लिन नसकेको  कारणले पुन २०५८ फागुनमा विराटनगरमा एक भेला आयोजना गरी अनिरुद्र तिम्सिनाको अध्यक्षतामा वंश विवरण संकलन तदर्थ समित गठन गरियो । वि.सं. २०६३ मा इटहरीमा  भएको भेलाले टीकादत्त तिम्सिनाको अध्यक्षतामा तिम्सिना वंश प्रतिष्ठान पूर्वाञ्चल क्षेत्रीय समिति गठन गर्र्यो ।

 

अनिरुद्र तिम्सिना वंशावली खोज संकलन कै क्रममा ब्रह्मलीन हुनुभयो । पूर्वाञ्चलका बन्धुहरूले आफूले संकलन  गरेको वंशावली २०७० सालमा इटहरीमा एक भव्य कार्यक्रमका बीच विमोचन तथा मौद्गल्य ऋषिको शालिक अनावरण समेत भयो ।

 

पश्चिमाञ्चलमा भएको प्रयास पश्चिमाञ्चलको केन्द्र बिन्दु पोखरामा वि.सं. २०४४/०४५ सालदेखि नै वंश  खोजविनको प्रयास गरिएको पाइन्छ । पं. अग्निधर,  सोमनाथ तिमिल्सिनाका संरक्षकत्वमा भएका केही कागजहरू प्रकाशनमा ल्याइए तर यसले गति लिन सकेन  ।  पुन २०५५ सालमा पोखरामा  नरहरि तिमिल्सिनाको घरमा केही बन्धुहरू जम्मा भै  छलफल तदर्थ समिति गठन भयो । वि.सं. २०५५ चैत्र २७ गते कास्की पोखरा स्थित वैरागी वनमा वृहत भेलाले बालकृष्ण तिमिल्सिनाको अध्यक्षता गठित तदर्थ समितिलाई नै जिम्मेवारी दिई समिति गठन गर्यो । उक्त भेलामा १ पाने  भित्ते पात्रो (क्यालेण्डर) वितरण गरिएको थियो ।

 

वि.सं. २०५६ सालमा तिमिल्सिना समाज समिति कास्की भनी जि.प्र.का. मा दर्ता गरिएको  थियो । वंश खोजविनको लागि अछाम जिल्लाको तिमिल्सैन जानको लागि २०५६ कार्तिक ५ गते बालकृष्ण, सोमनाथ लोकराज  पूर्ण प्रसाद र पशुपति तिमिल्सिना समेत भै वंशावली संकलन कार्यको लागि धेरै दुःखकष्ट गरी सो समयमा  सेती अञ्चल अछाम जिल्लाको  तिमिल्सिैन जानु भै त्यहाँको  सम्पूर्ण वस्तु स्थिति बुझी फोटो खिची ल्याउनु भएको उहाँकै  हस्तलिखितबाट जानकारी पाउन सकिन्छ ।  (हाल लिखित संलग्न छ), वि.सं. २०५६ सालमा जिल्ला समिति भनी दर्ता गरिएकोमा अन्यत्र कुनै स्थानमा पनि वंश खोजविनको प्रयास भएको नदेखि पुनः उपरोक्त बन्धुहरू एवं नरहरि तिमिल्सिना, भीम प्रसाद गंगाधर तेज नारायण लगायतका बन्धुहरुले पोखरामा नै केन्द्रीय समिति कायम गर्ने गरी वि.सं . २०५८  सालमा तिमिल्सिना समाज केन्द्रीय समिति दर्ता गर्नु भयो । यसरी केन्द्रीय समितिकै रूपमा वि.सं. २०६७ सम्म काम गरी नै रहनुभयो तर पनि आशातीत उपलब्धी हासिल गर्न नसक्दा र काठमाडौंमा नै केन्द्रीय समिति बनी सकेको हुँदा दुवै समितिलाई एक आपसमा गाम्भे र पोखरामा वंश अनु सन्धान केन्द्र स्थापना गर्ने सहमती भयो । यसरी पूर्व पश्चिम जताततै प्रयास गरिए तापनि  कुनै ठोस कार्य हुन नसकेपछि वि.स. २०६३ काठमाडौंमा गठन गरिएको तिमिल्सिना समाज नेपाललाई नै सबै क्षेत्रबाट सहयोग गरी आगाडि बढाउने कार्य गरियो ।

 

२०६३ असार १० को भेलाबाट संयोजक चयन  हुनुभएका शान्ति कुमार तिमिल्सिना तराई तर्फ अध्यापन गर्नहुने अलि व्यस्त रहनु पर्ने हुँदा उहाँकै प्रस्तावमा निलाम्बर तिमिल्सिना लाई अध्यक्ष बनायौं, उहाँको कार्य व्यवस्तताले समय  दिन नसक्नु भएको हुँदा केही दिनमा नै राजिनामा दिनुभयो । त्यस समयको उपाध्यक्ष म स्वयंलाई नै अध्यक्ष बनाउन शान्तीजीले प्रस्ताव गर्नु  भै समाजबाट निर्णय भयो । तिमिल्सिना वंश दर्पण  स्मारिका–  अंक १ को प्रकाशन समेत भयो ।

 

समाज स्थापना र यसका उद्देश्यहरू यसप्रकार थिए ;

देश विदेशमा छरिएर रहेका मौदगल्य गोत्रका तिमिल्सिना, तिमिल्सेना, तिमसिना, तिम्सिना, तिमल्सेना वा थर परिवर्तन गरी उपाध्याय, जैसी, जोशी, खत्री, क्षेत्री, के.सी. थर  भएका बन्धुहरूको खोजी गरी तिनीहरूको उत्पत्तिदेखि वर्तमानसम्मको ऐतिहासिक अध्ययन अनुसन्धान विश्लेषण  र विवेचना गरी आफ्नो संस्कृतिको पहिचान गर्दै एकता, सदभाव, सहयोग, भातृत्वको विकास तथा  सामाजिक कल्याणकारी रचनात्मक कार्यहरू गर्ने उद्देश्यले नेपालका विभिन्न जिल्लाहरूमा दर्ता भै कार्यरत  संस्थाहरूलाई मार्गदर्शक मान्दै भएका प्रयासहरूलाई सराहना प्रशंसा र उच्च मुल्यांकन गर्दै सबै संस्थाहरू बीच समन्वय  गर्दै सबै संस्थाले  गरेका कार्यहरूलाई  एकीकृत रूपमा अगाडि बढाउने उद्देश्यले तिमिल्सिना समाज नेपालको स्थापना गरिएको थियो ।

समाज स्थापनाका उद्देश्यहरू:

१.  तिमल्सिनाहरुको आर्थिक सामाजिक शैक्षिक स्थितिको अध्ययन अनुसन्धान गर्ने ।

२.  तिमिल्सिना लगायत अन्य समुदायहरुको लागि कल्याणकारी योजनाहरू बनाउने र सामुदायिक हितको निमित्त कार्य गर्ने ।

३.  स्वदेश तथा विदेशमा रहेका बन्धुहरूको वंश खोजवीन गरी वंशावली तयार गर्ने ।

४.  तिमिल्सिनाहरूको सनातनदेखि चलिआएको संस्कृतिको खोजी गरी संरक्षण तथा सम्वर्द्धन गर्ने ।

५.  वार्षिक कुलपुजाको निर्धारण गर्ने ।

६.  स्वास्थ्य शिक्षा र वातावरण संरक्षण  सम्बन्धी कार्यक्रमहरू संचालन गर्न सहयोग गर्ने ।

 

“जय तिमिल्सिना समाज”

Leave a Reply